गोरखा। घरभित्रै सुतिरहेकी ६ वर्षीया बालिकालाई घर नजिकै पाखोबारीमा लगेर बलात्कार गरेको आरोपमा साउन ७ मा पालुङटार नगरपालिका–९ का १८ वर्षीय काले भनिने निरज कुमाललाई प्रहरीले पक्राउ गर्यो । साउन ६ को राति १० बजे मुख थुनेर कराउन नदिई बलात्कृत भएकी बालिकालाई परिवारका सदस्यले भोलिपल्ट बिहान ३ बजेमात्र घाइते अवस्थामा रुँदै घरतर्फ आइरहेको भेटेका थिए ।
अनुहार र टाउकोमा चोट देखिएकी बालिकालाई उपचार गर्न सदरमुकाम ल्याइयो । प्रहरीमा साउन ७ मा जाहेरी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा युवकले मादक पदार्थ सेवन गरी मात्तिएको अवस्थामा करणी गरेको खुल्न आएको जिल्ला प्रहरीका डीएसपी प्रकाश दाहालले बताए । आरोपितविरुद्ध जबर्जस्ती करणी शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यसैगरी गत शनिबार ५ वर्षकी बालिका पनि बलात्कारको सिकार भइन् । बलात्कार आरोपमा अजिरकोट गाउँपालिकाका ७२ वर्षीय वृद्ध लेखनाथ खनाल पक्राउ परे । मादक पदार्थ सेवन गरेका वृद्धले घरमा कोही नभएको मौका पारी बालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा वृद्ध खनाललाई पक्राउ गरिएको दाहालले बताए । जिल्लामा यस्ता नाबालिका बलात्कारका कहालीलाग्दा घटना निरन्तर भइरहेका छन् । साउनमा मात्र जबर्जस्ती करणीका ४ मुद्दा प्रहरीकोमा दर्ता भएकोमा ३ वटामा बालिका बलात्कारको सिकार बनेका छन् ।
अर्को घटनामा बाबु र काकाबाट ११ वर्षकी बालिका बलात्कृत भएकी खुलेको छ । छोरी बलात्कारको आरोपमा पालुङटार नगरपालिका–८ का ३७ वर्षीय बाबु र ३२ वर्षीय काका पक्राउ परेका हुन् । बलात्कृत बालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सोधपुछ गर्दा बाबु र काकाबाट बलात्कृत भएको खुलेको प्रहरीले जनाएको छ । बाबुले एक वर्षदेखि र काकाले गत कात्तिकमा एकपटक बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पीडित बालिका गत वैशाखमा बिरामी परेपछि स्थानीय अस्पतालमा उपचार गराइएको तर निको नभएपछि असार २७ मा काठमाडौं थापाथलीस्थित प्रसूतिगृह पुर्याइएको थियो । उपचारका क्रममा बालिकाको पाठेघरमा समस्या देखिएपछि पीडितको फुपूले बालिकालाई सोध्दा बलात्कारको घटना बाहिर आएको हो ।
पीडितको फुपूमार्फत नै साउन २२ मा प्रहरीमा उजुरी दर्ता गरिएको हो । पीडितकी आमाले २ वर्षअघि नै दोस्रो विवाह गरेर अन्यत्रै गएकी थिइन् ।साउन महिनामा भएका तीनवटा घटनामा आफन्त र चिनेजानेकाबाट बालिका यौनहिंसामा परेको प्रहरी बताउँछ । प्रहरीका अनुसार आथिक वर्ष २०७७/७८ मा बालिका जबर्जस्ती करणीका घटना बढी छन् । उक्त वर्ष प्रहरीमा दर्ता भएका २७ जबर्जस्ती करणीका घटनामध्ये २१ बालबालिकासँग सम्बन्धित छन् । अधिकांश घटनाका पीडक भने १८ वर्षमाथिका छन् । जबर्जस्ती करणी उद्योगका ९ जाहेरी परेकोमा ३ बालिकासँग सम्बन्धित छन् ।
छिमेकी, चिनेजानेका र संरक्षकबाटै बालिका यौनहिंसामा पर्ने गरेको घटनाको प्रकृतिले देखाएको जिल्ला प्रहरी प्रमुख एसपी शेखर खनालले बताए । ‘हजुरबुबाबाट नातिनी बलात्कृत भएको उजुरी आएको थियो, घरभित्रै पनि बालिका यौनजन्य हिंसामा परेका छन्,’ खनालले भने, ‘परिवारका सदस्यले छिमेकी र चिनेजानेकालाई विश्वास गर्ने तर संरक्षक भनिएकाहरू नै यस्ता कार्यक्रमा संलग्न भएको पनि पायौं ।’ अशिक्षा, मादक पदार्थ सेवन र उत्तेजनाले बालिका यौनजन्य हिंसामा पर्ने गरेको उनले बताए । बलात्कारको घटना न्यूनीकरणका लागि कानुनी शिक्षा र सचेतनाको आवश्यकता देखिएको खनाल बताउँछन् । कानुनी ज्ञानको अभावमा पनि घटना हुने गरेका छन् । धैरैजसो पीडकले यौन उत्तेजनामा आएर घटना हुने गरेको प्रहरीसमक्ष बताउने गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोगले पनि यौनजन्य घटना बढेको प्रहरीको भनाइ छ ।
पछिल्लो समय जिल्लामा जटिल प्रकृतिका यौनजन्य हिंसाका घटना बढेकोमा अधिकारकर्मीले पनि चिन्ता जनाए । आरोपितलाई कानुनी कारबाही गरे घटना न्यूनीकरण हुने महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष सावित्री भट्ट बताउँछिन् ।
‘बाउबाट छोरी, हजुरबुबाबाट नातिनी बलात्कृत भएकी छिन्, पाको मान्छेले नबुझ्ने भन्ने हुँदैन । यस्तालाई हदैसम्मको कारबाही हुनुपर्छर्,’ उनले भनिन्, ‘कानुन कार्यान्वयन मात्र पूर्णरूपमा हुन सके घटनामा कमी आउँथ्यो ।’ बलात्कारको घटना न्यूनीकरणका प्रयास भए पनि कमी हुन नसकेकोमा उनले चिन्ता जनाइन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Jureli News
Made by Pahilo Drishti