पुष्पराज खतिवडा
बारा
१४ पौष २०७८
रसायनिक मलको चरम अभाव भएको छ । गहुँ ,मकै ,तरकारी लगायत बालिमा हाल्न यूरिया मल नपाएको किसानहरुले बताएका छन् । समयमा मल नपाउँदा उत्पादन नहुने र लगानी डुब्ने जोखिम भएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ बडहर्वाका हरि खड्काले बताउनु भयो । “मकैमा मल हाल्ने बेला भएको छ , मल छैन । स्थानिय साना किसान कृषि सहकारी संस्थामा थोरै यूरियाका कारण आफुले पाउन सकिन” वहाँले भन्नु भयो ।
यस्तै अर्का स्थानिय मुकेश वाईवाले दुई बोरा यूरिया मलको चाहिएकोमा २० किलो मात्रै पाइएको बताउनु भयो । उक्त मलले एकछेउ पुग्दैन । समस्या भयो ,वहाँले भन्नु भयो । मकैमा मल हाल्न नपाए महँगो विउ, जोताई ,ज्यालामा गरेको खर्च खेर जाने चिन्ता भएको छ, वाईवाले भन्नु भयो ।
नगरपालिकाले मनपरि डिलर बाँडेका कारण धेरै सदस्य आवद्ध संस्थाहरुले प्राप्त गर्ने थोरै मलको कोटाले विवाद मात्रै गराएको स्थानिय साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी उपाध्यक्ष फूल कुमारी बस्नेतले बताउनु भयो । साल्ट टे«डिङ्ग तथा कृषि सामाग्री कम्पनीले प्रयाप्त मल दिन सकेका छैनन् । खेती गर्ने हजारौं किसान मल आयो भन्दै दिनहुँ सहकारीमा आउनु हुन्छ । तर मल भने कहिले काँही त्यसमा पनि २०, ३० बोरा मात्रै आउँछ । कल्लाई दिने नदिने वितरणमै समस्या हुन्छ संस्था उपाध्यक्ष बस्नेतले गुनासो गर्नु भयो ।
साल्ट टे«डिङ्ग कर्पाेरेसन लिमिटेड बिरगजं, पर्साका सुचना अधिकारी अधिकृत संजय कुमार गुप्ताका अनुसार आर्थीक बर्ष २०७८।०७८ मा बारा जिल्लाका लागि यूरिया ५ हजार ५९३ मे.ट., डिएपी ३ हजार २६३ मे.ट र पोटाँस ४६६ मे.ट. प्रदेश सरकारले निर्धारण गरेको कोटा हो । कोटाको ३० प्रतिशत हामीले र ७० प्रतिशत कृषि सामाग्री कम्पनी मार्फत वितरणको जिम्मा छ । उपलब्धताका आधारमा मल सिजन अनुसार नियमित वितरण भैरहेकै भएपनि प्रयाप्त हुन नसकेको सुचना अधिकारी गुप्ताले बताउनु भयो ।
सरकारले देशभरीका लागि बार्षिक ७ लाख मे.ट. रसायनिक मल तेस्रो मुलकबाट खरिद गर्दै आएको छ । सोही अनुसारको बजेट बनाएको सरकारलाई डलरको मुल्यमा आएको बृद्धिका कारण निर्धारित परिमाण आयात गर्न समस्या भएको बुझिएको गुप्ताले बताउनु भयो ।
अर्को कुरा किसानहरुका कारण पनि मल अभाव भएको हो । सिजनमा अभाव हुने भन्दै अनावश्यक भण्डारण गर्ने काम भएको छ । प्रति कठ्ठा २ केजी प्रयोग गर्नु पर्ने ठाउँमा ५ केजीबढी प्रयोग गर्ने गरिएका कारण यस्तो अवस्था आएको अधिकृत गुप्ताले बताउनु भयो । “किसानहरुलाई मल प्रयोग विधि जानकारी गराउने काम पालिकाहरुको हो । वहाँहरुको भुमिका देखिएन जस्ले गर्दा समेत समस्या भैरहेको छ” वहाँले भन्नु भयो ।
फोटोमा ः जीतपुरसिमरा १८ स्थीत साना किसान सहकारीले २० किलोको दरमा जोखेर यूरिया वितरण गर्दै ।
फोटो ः पुष्पराज खतिवडा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय