मनहर्वा,बारा
जिल्लाको एक सहकारी संस्थाले आफ्नै खर्चमा कृषि प्राविधिक नियुक्त गरेर गाउँका किसानलाई सेवा प्रदान गर्दै आएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले कृषि पेसामा आवद्ध आफ्ना सदस्यहरुलाई निःशुल्क सेवा उपलब्ध गराउन कृषि प्राविधिक जेटिए नियुक्त गरेको हो । तीन वर्षअघि नियुक्त हुनुभएका जेटिए जलेन्द्र चौधरीले सहकारी संस्थाका सदस्य किसानहरुको घरघरमा पुगेर सेवा दिदै आउनु भएको छ ।
निर्वाहमुखी कृषि पेसा गर्दै आएका साना किसान सदस्यहरुलाई व्यवसायिक बनाउने प्रयास स्वरुप सेवा उपलब्ध गराउदै आएको संस्थाकी अध्यक्ष नयनकला खड्काले बताउनु भयो । प्राविधिकमार्फत तरकारी, अन्नबाली, दुध तथा पशुपालन व्यवसायबाट आय वृद्धिका लागि आवश्यक तालिम र अन्य सेवा निःशुल्क दिँदै आएको उहाँले बताउनु भयो ।
‘कृषि पसलमार्फत सदस्यहरुको लागि आवश्यक मल, बिउ र विषादी पनि सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएका छौं, अध्यक्ष खडकाले भन्नुभयो, यसबाट किसानलाई व्यवसायिक बनाएर आयआर्जन गर्न मद्दत गरेको छ ।’ संस्थाले कृषि सामग्री कम्पनी र साल्टट्रेडिङ्ग कम्पनीबाट खरिद गरेर किसानलाई सहुलियतमा रसायनिक मल र विभिन्न कम्पनीका गुणस्तरीय बिउबिजन बिक्री वितरण गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
कृषि प्राविधिक सेवाको अलावा संस्थाले दुईजना पशु प्राविधिकलाई समेत सम्पर्कमा राखेर किसानहरुको पशुउपचार तथा सुरक्षण गर्ने कार्यमा लगाउँदै आएको संस्थाकी उपाध्यक्ष एवं कृषि कार्यक्रम संयोजक फुलकुमारी बस्नेतले जानकारी दिनु भयो । ‘पशुप्राविधिकहरु वर्षमा २ पटकसम्म किसानको घरगोठ पुग्छन, बस्नेतले भन्नुभयो, पशुमा लाग्ने भ्यागुत्ते तथा चर्चरे रोगविरुद्धको भ्याक्सीन नियमित रुपमा लगाउँदै आएका छन ।’ तर पछिल्लो समय स्थानीय पालिकाहरुले खोप लगाउन थालेपछि संस्थाले हाल भ्याक्सिन कार्यक्रम स्थगन गरेको बस्नेतले जानकारी दिनु भयो ।
किसानले संस्थाबाट कर्जा लिएर खरिद गरेको पशुको सुरक्षण (विमा) पनि गर्दै आएको छ । पशुधनको क्षति भए तत्काल क्षतिपूर्ति उपलब्ध गराएर जोखिम न्युनीकरणमा किसानलाई सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
संस्थामा हाल ४५ जना पुरुषसहित २ हजार ५ सदस्य आवद्ध छन् । संस्थाले बचत तथा ऋण, कृषि कार्यक्रम, दुग्ध संकलन केन्द्र (डेरी) र रेमिट्यान्स सम्बन्धी मुख्य काम गर्दै आएको उपाध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।
बार्षिक करिव ४५ करोडको कारोबार गर्दै आएको संस्थामा २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । जिल्लाको कलैया र जीतपुरसिमराका आधा दर्जन वडामा संस्थाले काम गर्दै आएको उपाध्यक्ष बस्नेतले बताउनु भयो ।
सहकारी संस्थाले कृषि उत्पादन वृद्धिको लागि गरेको यस प्रकारको प्रयास सकारात्मक रहेको स्थानीय किसानहरुको भनाइ छ । संस्था आफैंले कृषि तथा पशु प्राविधिक राखेर सेवा दिनु, सदस्यहरुको आय आर्जन वृद्धिका लागि काम गर्नु अनुकरणीय कार्य भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यावले बताउनु भयो । ‘सहकारीको सिद्धान्तअनुसार संस्थाले आफ्ना सदस्यलाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउनु पर्छ, उहाँले भन्नुभयो, यस अर्थमा साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको प्रयास अनुकरणीय छ ।’
राज्यको सिमित श्रोत साधन र जनशक्तिबाट मात्रै कृषि क्षेत्रको अपेक्षित विकास संभव नभएको र सरकारी, सहकारी र नीजी क्षेत्र मिलेर काम गर्न सके कृषि क्षेत्रको विकास गर्न धेरै दिन नलाग्ने ज्ञान केन्द्र प्रमुख यादवको भनाइ छ ।