पुष्पराज खतिवडा
बारा: जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ को जैतापुर–रामनगर जोड्ने गरी पसाह खोलामा पक्की पुल बन्ने भएको छ । सिमरा–कोल्हवी (रजैया) सडकखण्ड अन्तरगत पसाहमा बन्ने पुलको डिपिआर सम्पन्न भई साईड क्लियर गर्ने कामको थालनी भएको छ ।
उपमहानगरको वडा नं. १७को कार्यालयले विहिबार ३५ दिने सुचना जारी गर्दै सो क्षेत्रमा जग्गा पर्ने भए हकदावी गर्न अनुरोध समेत गरेको छ ।
बारा क्षेत्र नं.३का संघिय सांसद रामबाबु प्रसाद यादवका अनुसार नेपाल सरकारले करिब ५ बर्ष अघि डिपिआर तयार गरिसकेको थियो । तर बजेट नछुट्याउँदा पुल निर्माण प्रकृया अन्यौलमा थियो । हाल करिब २३ करोड बजेट विनियोजन भएको छ । निमार्णका क्रममा लागत बढ्न सक्ने सांसद यादवले जानकारी दिनु भयो ।
खोलाले बर्षेनी धार परिवर्तन गरेका कारण ९ सय मिटर करिव खोला देखिएपनि दुईसय मिटर लामो मात्रै पुल बन्ने छ । ३ बर्षमा पुल निर्माण सक्ने गरी एकमहिना भित्र ठेक्का प्रकृयामा जाने बारा क्षेत्र नं.३ का सांसद यादवले बताउनु भयो ।
पुल निर्माण प्रकृयाका लागि नगरपालिकाको अगुवाईमा साईड क्लियर गर्ने काम भैरहेको वडा नं.१७ का अध्यक्ष भिम बहादुर गंतानले बताउनु भयो ।
गंतानका अनुसार संघिय सांसद यादव, नगरपालिका कार्यकारी प्रमुख चेत कुमार पोखरेल प्रमुख ईजिनियर रामनरेश यादव, नगरका अमिन, स्थानिय जनप्रतिनीधि र सामाजिक अगुवाहरुको रोहबरमा पुल निर्माण हुने क्षेत्रको अनुगमन गरि चारकिल्ला निर्धारण गरेको छ ।
सोको आधारमा पुल निर्माण गरिने क्षेत्रमा ब्यक्तिगत पर्ने नपर्ने वा परे दावी गर्नेगरी ३५ दिने सार्वजनिक सुचना प्रकाशन समेत गरिएको वडा अध्यक्ष गंतानले बताउनु भयो ।
पुल नहुँदा एउटै वडाका मानिसलाई वडाबाट सेवा लिन समस्या हुँदै आएको थियो । बर्षामा बाढी डुवान र हिलो अनी सुख्खायाममा बालुवा र धुलोका कारण हैरानी खेप्नु पर्ने बाध्यता रहेको वडा नं.१७ रामनगरका आत्मादेव भट्राईले बताउनु भयो ।
यसका अलावा यो अती नै ब्यस्त सडकखण्ड हो । पुल नहुँदा लामो र जंगलको जोखिमपूर्ण यात्रा तय गर्दै सेवा लिन जानु पर्ने अवस्थाको अन्त्य हुने कुराले स्थानिय जनतामा खुशी छाएको भट्राईले बताउनु भयो ।
वडा कार्यालयको सार्वजनिक सुचना