३१ साउन,बारा: निजगढ नगरपालिकाबाट गैह्नेपालीलाई नागरिकता दिलाउनेलाई कारबाही गर्न प्रसाशनले अग्रसरता अझै देखाएको छैन । निजगढ नगरपालिका–१२ नं.वडा कार्यालयले दिएको सिफारिसको आधारमा गैह्नपालीले नागरिकता लिएको दुई महिना बितिसक्दा समेत जिल्ला प्रशासन कार्यालय बाराले कारबाही गरेको छैन । भारतियलाई नेपाली नागरिकता दिलाउनेलाई कारबाही नभएको भन्दै स्थानिय भने आक्रोसित बनेका छन् ।

वडा अध्यक्ष ज्ञानबहादुर गोलेको सिफारिसमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ की रजनी राईलाई ईलाका प्रशासन कार्यालय सिमराले गत १ असारमा रजनी गोलेको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको थियो । रजनीले ३३–०२–७९–००५१३ नम्बरको नेपाली नागरिकता प्रदान गरेकी हुन् । नागरिकता प्राप्त गर्ने रजनी हाल फरार रहेकी छिन् ।

उनले नागरिता लिएको सातापछी दुषित ढंगबाट भारतीयलाई नागरिता दिलाएको भन्दै संलग्न दोषीलाई कार्वाही र राईको नागरिता रद्द गर्न स्थानियले उजुरी दर्ता गराएका थिए । त्यसको दुई महिना पुग्नै लाग्दासम्म पनि प्रशासनले कसैलाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै स्थानियले आक्रोस ब्यक्त गरेका छन् ।

वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) की छोरी भन्दै राईको वडा कार्यालयले २३ जेठमा युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो । नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन वडाले ईलाका प्रशासन कार्यालय सिमरामा गत २४ जेठमा सिफारिस पठाएको थियो ।

दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय युवाहरूले गत ८ असारमा ईलाका प्रशासन कार्यालय सिमरामा उजुरी दर्ता गरेका थिए । उजुरी माथि तत्काल कारबाही थाल्नु पर्ने माग राखि उनीहरूले धर्ना र प्रदर्शन समेत गरेका थिए । प्रशासन र जनप्रतिनिधिको मिलेमतो र आर्थिक प्रलोभनमा परेर गैह्नेपालीलाई नागरिकता दिएको स्थानियको भनाइ छ ।

यता, घटनाको छानबिन सुरु गरिएको ईलाका प्रशासन कार्यालय सिमराका प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले बताए । उनले नक्कली आमा र बुबा बनेका दुबै जना र वडा अध्यक्ष गोलेलाई पनि सोधपुछको लागि कार्यालयमा उपस्थिति गराउन प्रहरी मार्फत् बोलाइएको जानकारी दिए ।

रजनीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको भेलिपल्ट नै काठमाडौंबाट राहदानी समेत बनाएर लिएको बताइएको छ । ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक संजिव ओलीले नक्कली आमा÷बुबा बन्नेहरू हाल फरार रहेको र खोजीकार्य भइरहेको बताए ।

वडा कार्यालयको सिफारिसमा सिमरास्थित ईलाका प्रशासन कार्यालयले वडा अध्यक्ष गोलेले नागरिकताको लागि गत २४ जेठमा सिफारिस गरेका थिए । आर्थिक प्रलोभनमा परेर दार्जिलिङ्गमा रहका आफ्ना नातेदार राईलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन वडा अध्यक्ष गोलेले सहयोग गरेको स्थानियले उनीमाथी आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय