२४ भदौ ,बारा : जितपुरसिमरा उपमहानगरपालिकाले गत श्रावणमा करिब दुई करोड राजश्व संकलन गरेको छ । नगरले सार्वजनिक गरेको बुधबार सार्वजनिक गरेको आन्तरिक आय विवरणमा उसले १ करोड ९६ लाख ९ हजार ४२४ रुपैंया संकलन गरेको जनाएको हो ।
सो महिनामा नगरपालिका कार्यालयबाट सबै भन्दा धेरै १ करोड ७० लाख ८० हजार ९४३ रुपैया ७१ संकलन भएको छ । यस्तै वडाहरुमा श्रावण महिनामा वडा नं.९ ले अन्य वडाहरुको तुनलामा सबैभन्दा धेरै राजश्व संकलन गरी दाखिलाा गरेको छ । उसले सो महिनामा २ लाख ६६ हजार ७९८ रुपैंया ५४ पैसा राजश्व संकलन गरेको नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यसैगरी श्रावण महिनामा सबै भन्दा कम राजश्व संकलन गर्नेमा वडा नं. ६ देखिएको छ । उसले श्रावण महिनामा जम्मा ७ हजार ३४२ रुपैंया मात्रै राजश्व संकलन गरेको देखिन्छ । नगर तथा वडाहरुबाट ब्यवसायिक, सिफारिस, जग्गाको तिरो लगायत नगरकार्यपालिकाले ताकेको विभिन्न कर नगरपालिकाले संकलन गर्ने गर्दछ ।
नगरपालिकाका २४ वडाहरु मध्य बाँकी वडाहरुमा ६० हजार देखी २ लाख १६ सम्म आन्तरिक राजश्व संकलन भएको राजश्व ब्यवस्थापन शाखा अधिकृत राम प्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित विवरणमा उल्लेख छ ।
अघिल्ला बर्षहरुमा कतिपय वडाले संकलित राजश्वको रसिदनै नकाटेर हिनामिना गरेको पाईएपछि नगरले यस बर्षबाट कडाई सुरु गरेको नगर प्रमुख राजन पौडेलले बताए ।
वडा कार्यालयमा हजारौं सिफारिस चलानी भएको देखिए पनि रसिद थोरै संख्या काटेर राजश्व रकम कम असुली देखाउने प्रवृती पाईएको गुनासो आएको थियो । जनताले रकम तिर्ने तर रसिद नकाटिने समस्या पाईएको थियो । यस्ता कमजोरी हुन नदिन यसपटकबाट राजश्व संकलनमा कडाई गरिएको नगर प्रमुख पौडेलले बताए ।
“जनताले तिरेको कर सहि ठाउँमा पुग्न पर्दछ । जनताले पैसा तिर्ने तर सो पैसा सिमित ब्यक्तिले दुरुपयोग गर्ने कार्य नहोस् भनि अनलाईन विलिङ्गलाई प्रभावकारी बनाईएको छ, ” उनले बताए ।
यस्तै राजश्व संकलनको अवस्थाको नियमित नियमन गर्ने र मासिक विवरण सार्वजनिक गर्ने कार्यको थालनि गरिएको उनले बताए । नगर प्रमुख पौडेलले नगरबासी तथा सेवाग्राहिलाई कर तिरेपछि सोको रसिद अनिवार्य लिन भनेका छन् । यसका अलवा तोकिए वाहेक एकपैसा वडी नबुझाउन समेत सुझाव गरेका छन् ।
नगर सहित वडागत राजश्व संकलनको विवरण हेर्नूहोस्……..