नवराज घिमिरे
१ असोज ,सिमराः‘मेरो मत मेरो भविष्य हो‘ भन्दै नेत्रहिन युवा संघले मतदान गर्दा इच्छाइएको व्यक्तिद्वारा मत दिन पाउनुपर्ने व्यवस्थाको माग गरेको छ । राको सिमरामा आयोजित अपांगता भएका व्यक्तिहरुको राजनीतिक अधिकार, सहभागिता र अपांगतामैत्री निर्वाचन प्रणाली, सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक जिल्लास्तरीय संवाद कार्यक्रममा उनीहरुले यो विषय उठान गरेका हुन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सँघका केन्द्रीय उपाध्यक्ष शिव चापागाइँले आसन्न निर्वाचनमा अपांगमैत्री मतदानको व्यवस्थाका लागि जोड दिए । उनले भने “एकै घरमा पनि फरकफरक पार्टी÷व्यक्ति माथी आस्था राख्नेहरु हुन्छन् । त्यस्तोमा मेरो मत एकाघरकै मार्फत दिलाउँदा मेरो चाहना विपरीत मत खस्नेमा दुई मत छैन । त्यसैले इच्छाइएको व्यक्तिद्धारा मत दिन पाउने व्यवस्था गरी अपांगका साथै विभिन्न कारणले स्वयं मत दिन नसक्नेहरुका लागि सहज र विश्वसनीय वातावरण बनाइनुपर्छ ।”
उनले आसन्न निर्वाचनमा अपांगता भएका व्यक्तिहरुलाई राज्यका विभिन्न तहमा अवसर दिनुपर्नेमा समेत जोड दिए । नेपालको संविधानले प्रत्यायोजन गरेका कुरालाई व्यवहारिक नबनाइएको गुनासो चापागाईंको छ । उनले आगामी निर्वाचनको आचारसंहिता निर्माण गर्दा अपंगता भएकालाई समावेश गरेर बनाउन, निर्वाचन पर्यवेक्षकका रुपमा समावेश गर्न, मतदान स्थलसम्म जाने आउने सवारीको व्यवस्था, प्रत्येक मतदान केन्द्रमा एकजना दोभाषे राख्न, निर्वाचन आयोगका वेवसाइटहरुलाई अपांगमैत्री बनाउन सके अपांगले पनि सम्मानजनक मत दान गर्न तथा मत गणनाको स्थितिबारे समयमै जानकार हुने तर्क सहित कम से कम नमुनाका रुपमा भएपनि २/४ मतदान स्थललाई व्यवस्थापन गर्न सम्बन्धितमा आग्रह गरे ।
मेरो मत मेरो भविष्य भन्ने विषयलाई अपांगले बुझेको तर नियामक निकायको निती तथा सामाजिक थितीले मतदान दिनै समस्या भएको अपांग संघ बाराका गंगा वाग्लेले बताए । कानुन तः आपांग वा अल्पसंख्यक भनि तोकिनाले अपांगले अवसर नै नपाउन उनको तर्क छ । साथै उनले केही दल बाहेक राजनीतिक दलले आफ्नो विधानमा अपांगताासम्बन्धी कुरा समेट्न नसकेकोमा दुःखेसो व्यक्त गर्नुभयो । जसोतसो मत दिए पनि सहयोगिकै मनोपलीले मतको कदर हुन नसकेको उनको ठम्याइ छ । वाग्लेले भौगोलीक रुपमा स्थानमात्र अपांग मैत्री नभएर बोली व्यवहार र भाषामा पनि सुधार ल्याउनु पर्ने कुरामा जोड दिए ।
यसैविच कानुनको पाटो मात्रै नहेरी गएको निर्वाचनमा व्यवहारिक तवरले अपांगता भएकाहरुलाई सहज हुनेगरी मतदान गराउने प्रयास गरेको दावी गर्छन् जिल्ला निर्वाचन अधिकारी सरोज चौधरी । आगामी निर्वाचनमा पनि सकेसम्म अपांगहरुलाई अवस्था अनुसारको व्यवस्था गर्नेमा कुनै कसर नछाड्ने उनले बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सेनाले निर्वाचन लक्षित म्यादी प्रहरीलाई समेत अपांगहरुको सहजतालाई ध्यान दिने किसिमको ज्ञान प्रदान गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला नेता हरि थपलिया, नेकपा एमालेका कार्यालय सचिव शर्मा बेैठा, जसपाका जीवनाथ गोैतमले आफ्नो पार्टी अपांगमैत्री पार्टी भएको दावी गर्दै आआफ्नो तर्फबाट अपांगको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेत्रहीन युवा संघ बाराका अध्यक्ष वकिल मियाँ अन्सारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विष्णु दाहालले गरेका थिए । कार्यक्रममा विभन्न अपांगता भएका व्यक्ति सहभागि थिए ।