नवराज घिमिरे
असोज ११, बारा
नगरले महशुल बुझाउने गरी सिमरामा सडक बत्ती बालेर बजार झलमल्ल पारिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले महशुल तिर्ने सडक बत्ती बालिएका हो । नगर प्रमुख राजन पौडेलले ट्रासफर्मर अन गरेर अँध्यारो हुँदा आफैं बल्ने र उज्यालो हुँदा आफैं निभ्ने गरी अटो स्विचको व्यवस्था सहितका बत्ती बालेका हुन् ।
बीरगञ्ज पथलैया ६ लेन सडक आयोजनाले एक वर्ष अघि सम्पूर्ण काम सम्पन्न गरेको भएपनि सडक बत्ती बालिएको थिएन । विद्युत महसुल कसले तिर्ने भन्ने अन्यौलताका कारण हालसम्म बत्ती बल्न सकेको थिएन । अँध्यारोमा सवारी आवागमनका साथै अन्य गतिविधीमा समस्या भइरहेको थियो ।
तत्काल महसुल आयोजनाले तिर्ने र आयोजना हस्तान्तरण पछि नगरपालिकाले तिर्ने गरी सडक बत्ती बालिएको विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए । ढिलै भएपनि बत्ती बलेकोमा खुशी व्यक्त गर्दै श्रेष्ठले सडकमा सहज सवारी आवागमनका लागि १ सय २० वाटका एलइडी बल्ब राख्न सुझ्याए ।
६ लेन सडक आयोजनाका सूचना अधिकारी एवं इञ्जिनियर सञ्जिवकुमार गुप्ताले सिमराको सूर्य नेपाल कम्पनी अगाडि देखि पथलैयासम्म १ सय ९० वटा पोलमा एकसाथ बत्ती बालिएको बताए । उनका अनुसार पोलका दुवैतर्फ ५०÷५० गरी १०० वाटको बत्ती बालिएको छ ।
कार्यक्रममा उपप्रमुख भोला अधिकारी, २ नं वडाका वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं १ का कार्यवाहक वडा अध्यक्ष अमन लामा, राजनीतिक दलका प्रतिनिधि, छ लेन सडक आयोजनाका प्रतिनिधि, विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।