नवराज घिमिरे
१० मंसिर , बारा: साना किसान कृषि सहकारी संस्था लिमिटेड फत्तेपुरले २१ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १२ मा रहेको सहकारीले बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले कृषि तथा पशुपालनका क्षेत्रमा सहकारीसँग उपमहानगर सहकार्य गर्न तयार रहेको बताए ।
नगर प्रमुख पौडेलले सहकारीलाई मर्ज गरेर संख्यात्मक रुपमा घटाएर गुणात्मक रुपमा बढाउन आवस्यक रहेको औंल्याउँदै यसमा जिम्मेवार भुमिका निर्वाह गर्न सहकारीकर्मीलाई आग्रह गरे । सहकारी सुधार अभियानमा स्थानीय सरकार पूर्ण सहयोगि बन्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
८१ जना पुरुषसहित २ हजार ३५ महिला शेयर सदस्य रहेको संस्थाले यस वर्ष ९३ लाख ५९ हजार ३ सय २० रुपैंयाँ मुनाफा गरेको कार्यक्रममा जानकारी गराइएको थियो । संस्थाले अपांगता भएका दुई जनालाई दोसल्ला ओढाउँदै हर्लिक्स प्रदान गरेको छ ।
संस्थामा आवद्ध शेयर सदस्यका अपांगता भएका छोराछोरीलाई दोसल्ला ओढाएर सम्मान गर्दै हर्लिक्स प्रदान गरेको हो । कार्यक्रममा संस्थामा आबद्ध जेष्ठ सदस्यहरुलाई पनि दोसल्ला ओढाइ हर्लिक्स प्रदान गरेको छ ।
यसैगरी सहकारी संस्थाले कार्यक्रमका प्रमुख अतिथि एवं उपमहानगर प्रमुख राजन पौडेललाई मायाको चिनो दिए । साना किसान कृषि सहकारी सँघका अध्यक्ष मिश्रीलाल सहनी, वडा नं ५ का वडाध्यक्ष दीपक चौधरी, वडा नं ८ का वडाध्यक्ष शिवशंकर साह, वडा नं १२ का वडाध्यक्ष श्यामबाबु खाँ लगायतलाई सम्मान गरेको थियो ।
यसैगरी उत्कृष्ट वचतकर्तालाई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरेको थियो भने उत्कृष्ट कारोबार गर्ने समूहलाई समेत सम्मान गरेको छ ।
सभाले अध्यक्ष जयकिशुन प्रसाद चौधरीको संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक गुमादेवी शर्मा, संस्थाका मुख्य प्रबन्धक कविताकुमारी बस्नेतको बार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्यक्रम र बजेट सुझावसहित पारित गरेको छ ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनी, साना किसान सहकारी संस्था डुमरवानाका अध्यक्ष बिस्वनाथ लामिछाने, साना किसान इनर्वासिराका अध्यक्ष सञ्जिला खातुन, प्रबन्धक झपेन्द्र बराल, मनहर्वाकी अध्यक्ष नयनकला खड्का,प्रबन्धक पुष्पराज खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष जयकिशुन प्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन मन्दिप दुवाडीले गरेका हुन् ।