पुष्पराज खतिवडा
५ पौष २०७९
आन्तरिक राजश्व कार्यालय सिमराको आयोजना बाराको डुमरवानमा एकदिने कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार डुमरवाना कलेजको सभाकक्षमा जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको समन्वयमा कर कार्यलयले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका बारेमा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिनु हुँदै वर्तमान अवस्थामा करका दर, सहुलिय सुविधा र कानुनी कार्वाही सम्बन्धमा करदाताहरुलाई सहयोग पुगोस भन्ने उदेश्यले कार्यक्रम गरिएको हो । कर तिर्ने सम्बन्धमा ब्यवसायीका समस्या गुनासाको सम्बोधन, जरिवाना, छुट लगायतका विषयमा ब्यसायीले अन्तरक्रिया मार्फत लाभ लिनु भएको छ । यसैको संयोजन हामीले गरेका हौं, अध्यक्ष शर्माले भन्नु भयो ।
डुमरवाना आसपासका करिब एकसय जनाबढी ब्यवसायी सहभागि भएको कार्यक्रममा कर कार्यालयका प्रमुख राज कुमार खतिवडाले दर्ता नगरी कुनै प्रकारको ब्यवासय गर्न नहुने बताउनु भयो । उहाँले कुनै पनि ब्यवसाय दर्ता नगरि संचालन गर्न र संचालित ब्यवसायको समयमा कर तिर्न बुझाउन आग्रह गर्नु भयो । कर तिर्ने कुरालाई समस्या र बोझ मान्न हुँदैन । राज्य संचालन गर्ने महत्वपूृर्ण श्रोत नै कर भएकाले बाध्यताले नभै रहरले कर तिर्नु नागरिकको कर्तब्य हो ,उहाँले भन्नु भयो ।
आर्थिक ऐन ,२०७९ले कोभिड महामारीका कारण कारोबारमा समस्या भइ कर बुझाउन बाँकी भएका ब्यवसायीहरुलाई ५० देखी ७५ प्रतिशत सम्म करमा छुट दिएको छ । पौष मसान्त सम्म यस्तो सुविधार रहेको जानकारी गराउँदै कर कार्यालय प्रमुख खतिवडाले मौकाको फाईदा लिन ब्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमलाई कर प्रमुख खतिवडा, कर अधिकृतहरु हृदयनारायण महत्तो र रामेश्वर कुमार मिश्रले सहजीकरण गर्नु भएको कार्यक्रममा नगर उद्योग बाणिज्य संघ अध्यक्ष, उपाध्यक्ष लगायत पदाधिकारीहरुको सभागिता रहेको थियो ।