पुष्पराज खतिवडा
२८ पौष २०७९
२०२५ सालबाट बसोबास गर्दै आएका १७ परिवारको घरबास भएको जमिन आफ्नो भएको दावी गर्दै अर्कै मान्छे आएपछी यतीबेला बारा जितपुरसिमरा उपमहानगरपालिका १८ माथ्लो बडहर्वाका १७ परिवारको निद हराएको छ ।

माथ्लो बडहर्वाका रामबहादुर कार्की भने, २०२५ सालबाटै ऐलानी जमिन खनजोत गर्दै घरबास गर्दैआएका छौं । अहिले आएर अर्कैले २०३५ सालमा यो जमिन मेरा बुबाको भएको थियो भनी जग्गाधनीपूर्जा लिएरआएपछि निद हराएको उनले बताए ।

जिल्ला बारा गाविस भोडहा कित्ता नं.१८७, ८०, ७९ र १३५ को क्षेत्रफल क्रमश ०–१ –१०,०–९–०–५,०–६–० र ०–१–१५ जमिन मेरो भन्दै सोही पालिका वडा नं. १६ का स्वर्गीय सिताराम बराल र डम्बरकुमारी बरालका छोरा राजकुमार बरालले आफ्नो आमाको जग्गा भएको प्रमाण लिएर आएका हुन् ।

उनले २०३५ पौष ८ गतेको जग्गाधनी पूर्जा देखाउँदै उल्लेखित जमिन आफ्नो भएको दावी गरिरहेका छन् । यसै कारण २०३५ साल निद हराउने विषय भएको हो ।

राजकुमार नाताले रामबहादुर कार्कीका बहिनी ज्वाई हुन् । ज्वाईले नै जेठान परिवारको घरबास रहेको जमिन आफ्नो भन्दै विक्रि गर्न ग्राहक लगाएपछि मात्रै रहस्य बाहिर आएको स्थानिय कृष्ण खड्काले बताए । जग्गा खरिदकर्ता जमिन हेर्न आएपछि हल्लीखल्ली भएको उनको भनाई छ ।

घरबास भएको जमिननै अर्काले मेरो भन्दै पूर्जा लिएर आएपछि यहाँका स्थानिय तनावमा देखिएका छन् । उनीहरुले मालपोतमा गई समस्या दर्ज गरेको बताए ।

मालपोत कार्यालय बारा कलैयाले जग्गाको वास्तविकता बुझ्ने प्रकृया अपनाउँदै जग्गा दावीकर्तालाई १५ दिनभित्र सम्पूर्ण प्रमाण लिई आउनु भनि पत्र पठाएको पिडित कार्कीले बताए । त्यसको म्याद आगामी माघ ४ मा पुग्ने छ ।

ऐलानी जमिनलाई किर्तेगरी आफ्नो दावी गर्ने काम भएको उनको भनाई छ । २०३५ साल भन्दा अगाडीबाट हामीले भोग गर्दै आएका हौं । यतीका दिनसम्म कसैले केही भनेको थिएन । अहिले आएर मेरो भन्नेको कुनै आधार छैन । उनका प्रमाण किर्ते र नक्कली हुन् । हामीलाई दुःख दिने मात्रै काम भयो, कार्कीले भने ।

आमाको स्वर्गबास भएपछि राजकुमारले उक्त जग्गा आफ्नो नाममा नामसारी गरी बिक्री गर्न लागेका थिए । नामसारीका लागि जग्गाको सर्जिमिन जग्गा भएको वडा कार्यालय १८ ले गर्नु पर्नेमा उनको सर्जिमिन वडा नं.१६ले गरेको पाईएको छ । १८मा हुनु पर्ने काम १६ ले नै गरेर नामसारीका लागि प्रकृयामा सहयोग गरेपछि अन्य कागजातमा समेत थप शंका पैदा भएको विडित पक्षको तर्क छ ।

पिडित गरेबहादुर रानाले भने २०७१ सालमा मानमत मटिअर्वा सडक विस्तारका क्रममा उल्लेखित जमीन नेपाल सरकारको सार्वजनिक भएको भन्दै मुअब्जा कसैले पाएन । सडक क्षेत्रमा परेका घर टहराको मात्रै मुअब्जा बुझेका हौं । अहिले मेरो जमिन भन्नेले त्यतिबेला किन मुअब्जा दावी गरेनन् शंका गर्ने प्रसस्त ठाउँ छन् । हामीलाई दुःख दिने काम भयो । यो बदर हुनैपर्छ रानाले भन्नु भयो ।

पिडितहरु पक्षको निवेदनका आधारमा जितपुरसिमरा वडा नं.१८ ले २०७९ मंसिर १९ गतेका दिन जिल्ला प्रशासान कार्यालय बारालाई पत्र लेख्दै उल्लेखित जमिन बरालको नभएको भनी बदरका लागि सिफारिस गरेको थियो ।

वडाको सिफारिसपछि जिल्ला प्रशासन कार्यालयले २०७९ मंसिर १९ भुमि सुधार तथा मालपोत कार्यालय बारालाई पत्र लेखेको थियो । पत्रमा जग्गाको मिसिल लगायत सम्र्पूण कागजात राखी प्रतिवेदन पेश गर्न भनेको थियो ।

सोको प्रतिउत्तरमा मालपोतले उल्लेखित कित्तामा भएको जग्गाको मोठ/श्रेस्तामा २०३४ असार ३१ गते हाल आवादी समितिको निर्णय र मालपोतको २०३५ जेष्ठ २६को निर्णयले श्री ५ को श्रेस्ताबाट खारेज भई आएको भनि उल्लेख भएको र नेपाल सरकारको सार्वजनिकमा समेत कित्ता नं.७९,८०,१८७ भिडेको र मोठ/श्रेस्तामा संकास्पद भनी रातोमसीले टिपोट गरिईएको उल्लेख छ, भनी लेखी पठाएको छ ।

उल्लेखित जग्गाको फिल्डबुकमा भने प्रती उल्लेख भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय