पुष्पराज खतिवडा
२९ पौष ,बारा
सामाजिक सुरक्षा कोषको शाखा कार्यालय सिमराले सिमरामा सुक्रबार पत्रकारहरुसँग अन्तरकृया गरेको छ । बाराका सेवाग्राहीलाई कोषबाट लिन सहजताका लागि सिमरामा शाखा कार्यालय खोलिएको छ । शाखा खोलिएको लामो समयपछि पत्रकारहरुसँग अन्तक्रृयाको आयोजना गरेको कार्यालयले कोषका विषेशता , आवश्यकता र महत्वका बारेका प्रकाश पारेको थियो ।
कोषका सहप्रवक्ता एवं सहनिर्देशक रोहित रेग्मीले स्थापनाकाल देखि सामाजिक सुरक्षा व्यवस्था, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ का मुख्य प्रावधानका बारेका जानकारी गराउनु भएको थियो ।
उहाँले दिनुभएको जानकारी अनुसार श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु कोषको उद्देश्य हो । यस्तै सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिकहकलाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने ब्यवस्था गरेको छ । जसले गर्दा कोषको कार्य क्षेत्रलाई व्यापक बनाएको रेग्मीले बताउनु भयो ।
कोष ऐनले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजनालाई प्राथमिकता दिएको छ । यस्तै आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्न सक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको रेग्मीले बताउनु भयो ।
ऐनमा उल्लेखित सामाजिक सुरक्षा योजना सञ्चालन गर्नका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा छ । सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई सो बमोजिम २०६७ साल चैत्र ७ गते स्थापना भएको थियो , उहाँले भन्नु भयो ।
कार्यक्रममा कोषका प्रशासकिय अधिकृत दिपक सेढाँई,सिमरा शाखाका प्रमुख ऋषिराम पाण्डे, सहायक निर्देशक केशवराज गौतम एवं पत्रकार महासंघ बारा तथा पर्सामा आवद्ध २५ जना पत्रकारहरुको सहभागिता थियो ।