पुष्पराज खतिवडा
१ फागुन : बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ मा रहेको डुमरवानका बहुमुखी क्याम्पसले १५ औं बार्षिकोत्सव तथा १६औं स्थापना दिवस मनाएको छ । खेलकुद र रक्तदान लगायत विविध साताब्यापी कार्यक्रम गरी बार्षिकोत्सव मनाएको क्याम्पसले सोमबार स्थापना दिवस विशेष कार्यक्रम गरेको हो ।

बारा क्षेत्र नं.३(क)का प्रदेशसभा सदस्य रविनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा स्थापना दिवस विशेष कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथी समेत रहेकाका प्रदेशसभा सदस्य श्रेष्ठले शिक्षालाई आधुनिक बनाउनु पर्ने बताउनु भयो । प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले पढेका मान्छे बेरोजगार हुन नपर्ने गरी शिक्षा नितिमा सुधार औंल्याउनु भयो ।

क्याम्पसको शैक्षिक सुधारका लागि सरकार मात्रै नभएर समुदाय पनि सक्रिय हुनु पर्ने हुन्छ । शैक्षिक वातारवण, विषय , अध्यापकहरुको मेहनतले पनि शैक्षिक संस्थालाई उत्कृष्ठ बनाउँने उहाँको भनाई थियो ।

कार्यक्रममा मधेश विश्व विद्यालयका उपकुलपति प्राध्यापक दिपक शाक्यले पढेर रोजगार कि स्वरोजगार दिने शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । उहाँले विभिन्न मुलुकका शिक्षाको उदाहरण दिँदै तहाँ दिने ज्ञानले ति देशहरुलाई धनी बनाएको बताउनु भयो । नेपालमा अझैपनि शिक्षा सरकारको प्राथमिकतामा नपरेको भन्दै गुनासो ब्यक्त गर्नु भयो ।

कार्यक्रममा ठाकुरराम बहुमुखि क्याम्पस बिरगजंका सहप्रध्यापक विश्वंभर शर्मा, जितपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल ,उपप्रमुख भोला प्रसाद अधिकारी, वडा अध्यक्ष राम प्रसाद लामीछने, हरिदेव खरेल, पत्रकार विदुर खड्का लगायतकाले मन्तब्य राख्नु भएको थियो ।

मन्तब्यका क्रममा वक्ताहरुले आधुनिक, प्राविधिक सहित गुणस्तरिय शिक्षालाई जोड दिनु पर्ने धारण राखेका थिए । विद्यार्थी पलायनलाई रोक्न सक्ने वातावरण निर्माण गरि पर्ने बताए ।

कार्यक्रमका अवसरका क्याम्पसले उत्कृष्ठ अंक ल्याउने छात्रछात्राहरु, जनप्रनिधिहरुलाई सम्मान र ६६ जना छात्रछात्रालाई छात्रवृती वितरण गरेको छ । आजै भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेको पनि कार्यक्रममा जानकारी दिईएको थियो ।

२०६४ साल फागुन १ मा स्थापना भएको क्याम्पसमा हाल १७२ जना छात्रछात्रा अध्यायनरत छन् । अघिल्लो आर्थिक बर्षमा विद्यार्थी र अन्य आय गरी ३० लाख २१ हजार आम्दानी गरेको क्याम्पसले ७० लाख २८ खर्च गरेको छ । ४० लाख ७ हजार घाटामा रहेको क्याम्पसको आर्थीक अवस्था कमजोर भएका कारण कतिपय शिक्षकले २२ महिना देखी तलब सुविधा नपाएको गुनासो गरेका छन् ।

२०६४ साल फागुन १५ देखी २२ गते सम्म क्याम्पस संचालनका लागि लगाईएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा दान गरेका दाताहरुको नामावलि सहितको दाता स्तम्भको समेत आजै शिलान्यास गरिएको छ । दाता स्तम्भको कार्यक्रमका प्रमुख अतिथी प्रदेशसभा सदस्य श्रेष्ठले शिलान्यास गर्नु भएको हो ।

कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष अनिल कुमार मैनालीको अध्यक्षा, क्याम्पस प्रमुख राधेश्याम शिवाकोटीको स्वागत र उपप्रध्यापक राजु प्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको हो ।

फोटोमा : सोमबार डुमरवाना क्याम्पसको स्थापना दिवस कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथी लगायत ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय