१८ चैत्र,बारा :एक्सपोज नेपाल ललितपुरले बाराको जितपुर सिमरा उपमहानगपालिका वडा नम्बर १८ मा नि:शुल्क सेनेटरी प्याड वितरण गरेको छ । शनिबार वडा भित्रका ३ सय जना महिलालाई एक्सपोज नेपालले उत्पादन गर्दै आएको पुनः प्रयोग गर्न मिल्ने सजिलो प्याड वितरण गरेको हो ।
शंकरचोक र बडहर्वा चोक गरी दुई स्थानमा भएका कार्यक्रममा प्रत्येक महिलालाई चार/चार वटाका दरले प्याड वितरण गरिएको हो । कार्यक्रममा उपमहानगरका उपमेयर भोला अधिकारीले सजिलो प्याड बनाउन उपमहानगरबाटै बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले स्वच्छ महिनावारी र महिलाहरूलाई सिप वृद्धि गर्ने गरी एक्सपोज नेपालसँग सहकार्य गरेर कार्यक्रम गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रममा उपमहानगरभित्रका सबै महिलालाई समेट्न आफूले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्लेले आगामी वर्ष स्वास्थ्य र महिलाका लागि विनियोजन हुने बजेट पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम र प्याड वितरणमा छुट्याउने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले नेपालका कुनैपनि पालिकाले माग गरेका खण्डमा तालिम संचालन गर्न र प्याड वितरण गर्न आफू तयार रहेको बताउनुभयो । कार्यक्रममा सहजकर्ता मंगला थापा पूर्व वडा अध्यक्ष अर्जुन दाहालले आफ्ना अनुभव राख्नुभएको थियो ।
कार्यक्रमलाई आइसीटीसी राम रुक्मिनी प्राइभेट च्यारीटेवल ट्रस्ट हात्तिसार काठमाडौँले सहयोग गरेको थियो । एक्सपोज नेपालले यसअघिपनि बाराका विभिन्न स्थानमा नि:शुल्क प्याड वितरण गरेको थियो ।