
१ जेठ, रोल्पा । रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका-१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।


श्रीमान र नावालक छोरासँग सुनछहरी झरना हेर्न पुग्नुभएकी उहाँको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । चन्द्राका श्रीमान उमेश सुनार ईलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन् ।
‘चन्द्राले सुनछहरी झरनाको पोखरीमा नुहाउछु भनेपछि श्रीमानले छोरा लिएर अलि पर गएर पर्खेर बसेका रहेछन्, सोही क्रममा मृत्यु भएको रहेछ’, ईलाका प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक श्याम सारु मगरले भने ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।