३ असार, सिमरा
बाराः जीतपुरसिमरा उपमहानगरपालीकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार पालिकाको वडा नं.२२ अमलेखगञ्ज स्थित होटल क्यु ट्वान्टीमा आयोजना भएको आठौं नगरसभामा नगर प्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
आत्मनिर्भर, सक्षम एवम् जनमुखी स्थानीय सरकार, समृद्धिपूर्ण सुशासन जीतपुरसिमराको आधार’ को परिकल्पना गर्दै नगर प्रमुख पौडेलले २० पृष्ठ लामो नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगरसभामा पौडेलले जनप्रतिनिधिका रुपमा अघिल्लो आर्थिक वर्ष उलपब्धीमूलक रहेको उल्लेख गर्दै भावी योजना प्रस्तुत गरेका थिए ।
पौडेलले आफ्नो नीति तथा कार्यक्रममा सेवा प्रवाह, सुशासन, स्वास्थ्य, कृषी, शिक्षा, पूर्वाधार, सहकारी, भूमी, न्याय, पर्यटनलगायत क्षेत्रलाई समेटेका छन् । उनले देशकै नमूना उपमहानगरपालिकाको रुपमा सवलिकरण गर्दै जीतपुरसिमरालाई सक्षम आत्मनिर्भर नगर बनाउने उदेश्य रहेको बताएका छन् ।
स्वास्थ्य क्षेत्रतर्फ एक वडा एक एम्बुलेन्स सेवाको योजना कार्यान्यवनमा ल्याउने बताएका छन् । यसैगरी परम्परागत र आयूर्वेद उपचार पद्धतिलाई प्रवद्र्धन गर्ने योजना उनले ल्याएका छन् ।
कृषी क्षेत्रमा युवा अवस्थाको उर्जालाई कृषी क्षेत्रमा व्यवसायीकरण गर्न स्वरोजगार बन्ने र बनाउने, कृषी उपज भण्डार गर्न शित भण्डार र खाद्य भण्डार निर्माण, कृषी प्रयोजनका लागि माटो परीक्षण प्रयोगशाला निर्माणको योजना समेटिएको छ ।
नीति तथा कार्यक्रममा नगर प्रमुख पौडेलले एकवर्षे जनप्रतिनिधिको कार्यकालमा गरेका काम र आयोजनालाई २२ बुदामा समेटेका छन् । यसअवधिमा ८ वटा ऐन, १४ वटा कार्यविधि र ३ वटा निर्देशिका गरी २५ वटा स्थानिय कानून बनाएको नगरले कार्यसम्पादनमा सरलता ल्याउने जनाए ।