श्याम गुप्ता
१५ असार, जितपुर : बारा जिल्ला सहित देशभर आज २० औं राष्ट्रिय धान दिवस मनाईएको छ । ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाईएको हो ।

दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रमको आयोजना गरिएको छ । गत वि.सं. २०६१ सालमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं. २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार वि.सं. २०६२ असार १५ गते देखि राष्ट्रिय धान दिवस मनाउँन सुरु गरिएको हो ।

असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आजको दिनमा धान रोप्ने चलन छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषि सहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दही चिउरा खाएर असार १५ मनाएका छन् ।

औपचारिक रूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघि देखि नैं नेपालमा असार १५ गते दही चिउरा खाने चलन चल्दै आएको थियो । सोहि अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर पहाडीटोल स्थित लालबाबु प्रसाद साह कलवारको निजी खेतमा धान रोपाईं कार्यक्रमको आयोजना गरिएको थियो ।

असार १५ को अवसरमा आयोजना गरिएको धान रोपाईं कार्यक्रममा उपमहानगरमा पर्ने शहिद स्मारक ईङ्गलिस बोर्डिङ्ग स्कुल जीतपुर र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जितपुरमा अध्यनरत सयौंको संख्यामा छात्रछात्रा तथा शिक्षकहरूको उत्साह जनक सहभागिता रहेको थियो ।

कार्यक्रममा छात्रछात्रा र शिक्षकहरू तथा स्थानीयहरूले धान रोपाईं गरेपछि असार १५ गते खाने मुख्य भोजन दही र चिउरा ग्रहण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय