२२ असार,बारा: लघुवित्त र सहकारीको ऋण तिर्नु पर्दैन भन्ने अभियानले बाराका सहकारी संस्थाहरुमा समेत नकारात्मक प्रभाव पारेको सहकारीकर्मीहरुले बताएका छन् । सो गलत अभियानका कारण जिल्लाका अधिकांश सहकारी संस्थामा ठुलो परिणाममा ऋण भाखा नाघेको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनीले बताउनु भयो ।

जिल्लाका १६ वटा साना किसान कृषि सहकारी संस्थाहरु र १ सय ५० को हाराहारीका बचत तथा ऋण सहकारी संस्थाहरुमा यस्तो प्रभाव परेको हो । उहाँका अनुसार भाखा नाघेको ऋणको अनुपात १५ प्रतिशत सम्म पुगेको छ । जबकी यस्तो ऋण ५ प्रतिशत भन्दा कमै रहेको राम्रो मानिन्छ , उहाँले बताउनु भयो ।

गलत हौवाको पछाडी लाग्ने सदस्यहरुको कारण सहकारीमा ऋण जोखिम बढेको हो । सदस्यहरुको बचत रकम नै ऋणका रुपमा परिचालन हुने हुँदा कहीँ कसैले मिनाह गर्ने कुरा हुँदैन । तरपनि मानिसहरु भ्रममा परेर ऋणमा डुविरहनु भएको छ , अध्यक्ष सहनीले भन्नु भयो ।

यसै सन्दर्भमा छलफल गर्न विहिबार संघको जितपुसिमरा उपमहानगरपालिकाको वडा नं.१५ डुमरवानमा बसेको बैठकले ऋण तिर्नु पर्दैन भन्ने अभियानलाई निरुत्साहीत गर्ने निर्णय गरेको छ ।

यस अभियानका कारण सहकारी संस्थाहरुले लगानी गरेका कर्जा असुलीमा नकरात्मक असर परेको भन्दै गलत अभियान संचालन गर्ने उपर कार्वाही गर्न माग गरेको छ ।

गलत अभियान संचालन गरेर सामाजिक आर्थीक संरचनामा समस्या ल्याउने प्रयास भएको छ । यसर्थ जिल्ला प्रशासन कार्यालय बारा र पालिकाहरु मार्फत त्यस्ता ब्यक्तिहरुको पहिचान गरी कार्वाहीका लागि अनुरोध गर्ने निर्णय भएको संघका सचिव रामएकवाल चौधरीले जानकारी दिनु भयो ।

बारामा करिब ४५ हजार घरपरिवार सहकारीमा आवद्ध छन् । झण्डै १५ अर्ब बराबरको कारोबार सहकारीहरुले गरिरहेका छन्, उहाँले भन्नु भयो ।

सहकारी संस्थाहरुबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने गलत अभियान संचालन गर्नेहरुलाई राज्यले कार्वाही गर्नुपर्ने बारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सत्यन्द्र ठाकुरले बताउनु भयो । राज्य मुखदर्शक बन्दा यस्ता अभियानकर्मीले समाजमा आर्थिक कठिनाई उत्पन्न गरिरहेका उहाँको भनाई छ ।

झापाका दुर्गा प्रसाईले चलाएको अभियानको प्रभाव बारामा समेत परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय