लक्ष्मी खरेल
५ श्रावण, बारा: प्रहरीले तानाशाहि प्रवृत्ति देखाएर ज्यादती गरेको भन्दै कलैयामा सुक्रबार पनि विरोध प्रर्दशन भएको छ । समाजसेवी एवं नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादव माथी गालि गलौजका साथ प्रहरीले गरेको दुव्र्यवहारको विरुद्ध प्रर्दशन गरिएको हो ।
नेपाली काँग्रेस र नेकपा एसले संयुक्त रुपमा गरेको विरोध प्रर्दशनमा हजारौंको संख्यामा सर्वसाधारणले सहभागिता जनाएका थिए । उनीहरुले मानवता भुलेर जनतालाई दुःख दिने डिएसपी पुरुषोत्तम पाण्डे र इन्सपेक्टर रुपेश साहको निलम्बनको माग सहित प्रर्दशन गरेका हुन् ।
पछिल्लो समय प्रहरी चलचित्रका पात्र जस्तै मनोमानीमा उत्रीएको तथा शक्तीको दुरुपयोग गरी जनतालाई सताउन अग्रसर रहेको उनीहरुको आरोप छ । माग पुरा नभए अन्दोलन थप चर्काउने उनीहरुको भनाई छ ।
तीन साताअघि भएको सवारी दुर्घटनाका विषयमा पीडितका आफन्त र पीडकबीचको छलफल सहजीकरणका लागि गत मंगलबार जिल्ला प्रहरी कार्यालय पुगेका यादवलाई प्रहरीले कुटेर घाइते बनाए पछि प्रहरीको निरंकुशता छताछुल्ल भएको हो । सौहार्दपूर्ण छलफलका विच सब नेता दलाल हुन्, यिनलाई घिसारेर मर्नेगरी पिट्नुपर्छ भन्दै कड्किएका इन्सपेक्टर रुपेश साहको भनाईमा असहमती जनाउँदा आफुले राणाकालिन जस्तो दमनको सामना गर्नु परेको पिडित यादवले बताए ।
यादवले सबै नेता दलाल हुन्नन् इन्सपेक्टर साब भने लगत्तै डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले यो नेता बनेर हामलाई सिकाउने को हो ? थुन सालेलाई कुट् भनेर झोक्कींदै आदेश दिएपछि अति अशिष्ट व्यवहारका साथ इन्स्पेक्टर रुपेश साह लगायतले आफूलाई कुटपिट गरेको यादवले बताए ।
कुटाइले उनको बायाँ आँखा, कान, तिघ्रा, खुट्टा र ढाडमा गहिरो चोट लागेको छ भने एमआरआईको विहिबारको रिपोर्टपछी उपचारका लागि चिकित्सकले दिल्ली जान भनेको यादवले बताए ।
डिएसपि पाण्डेले कपालमा समातेर भुँईंमा पछारेको र बुटले हानेको तथा अझै नेता बन्छस् भन्दै जथाभावी गाली गरेर शारीरिकसँगै मानसिक रुपमा समेत आघात पुर्याएको बताए । प्रहरीले उनलाई केहि घण्टा नियन्त्रणमा राखेरै कुटपिट गरेको थियो । हाल उनको उपचार वीरगन्ज १४ बहुअरीस्थित स्पर्श मल्टीस्पेसालिटी अस्पतालमा भइरहेको छ ।
५० वर्षीय घाइते भैयाराम महागढीमाई नगरपालिका–७ बेनौली निवासी हुन् भने उनी वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियनका पूर्वसचिवसँगै पूर्वशिक्षक पनि हुन् ।
बेलुका सवा ७ बजेतिर भएको घटनाका बेला जिल्ला प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटी प्रमुख जिल्ला अधिकारीसहित कार्यालय बाहिर थिए । घटना भएपछि एसपी बोगटी कार्यालयमा आएको र उनले भैयाराम जि त शालिन व्यक्ति हुन् भनि चिनाएपछी मात्रै छाडेको यादवले बताए ।
घटनामा संलग्न भएकालाई कारबाही माग गर्दै कांग्रेस र एकीकृत समाजवादीले प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई बुधबार ज्ञापनपत्र बुझाएको थियो । तर त्यसको कुनै सुनुवाई नभएपछि आफुहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएको नेपाली काँग्रेस तथा नेकपा एसले जनाएको छ ।
एसपी बोगटीले नचिनेर यस्तो गल्ति भएको भन्दै घटनाबारे सत्यतथ्य बुझेर पीडितसँग छलफल गरेर विभागीय कारबाही गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कुनै प्रकृया अघि बढेको छैन ।
तीन साताअघि कलैया बघवन सडकमा पिकअप भ्यानले ठक्कर दिएपछि महागढीमाई नगरपालिका–७ बेनौली गाउँका २० बर्षीय सुनिल यादव घाइते भएका थिए । एलएस न्युरो अस्पताल विरगञ्जमा उपचाररत पीडितलाई पीडकबाट उपचार खर्च भराउने विषयमा प्रहरीमा हुँदै गरेको छलफलमा सहजिकरण गर्न भैयाराम त्यहाँ पुगेका थिए ।
यता समाजसेवी यादव माथी ज्याजती गर्ने डिएसपी पाण्डे र ईनिस्पेक्टर साहलाई कार्वाही स्वरुप सुक्रबार प्रदेश प्रहरी कार्यालय तानिएको बताईएको छ । सरुवा मात्रै गरेर समस्याको समाधान नहुने भन्दै पिडित पक्षले दुबै प्रहरीलाई निलम्बन सहितको कार्वाही गरिनु पर्ने बताएका छन् ।