काठमाडौं । पढ्नलाई उमेरले छेक्दैन भन्ने पछिल्लो दृष्टान्त बनेकी छन् रामेछापकी रत्नकुमारी सुनुवार । उमेरले ८० वर्ष टेकिसकेकी उनी हिजो प्रकाशित कक्षा १२ को परीक्षामा २.६४ जीपीएका साथ उत्तीर्ण भइन् ।
रामेछाप चरिकोट अड्डामा जन्मेकी रत्नकुमारीका चार छोराछोरी र सात नातिनातिना छन् । उमेरमा लेक–बेसी धाउँदा र मेलापात गर्दैमा व्यस्त भएर पढ्न नपाएको उनी बताउँछिन् ।


केही समयअघि बीबीसीसँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘पढ्नलाई उमेरले छेक्दो रहेनछ । पहिले मलाई धेरैले खिस्याउँथे । घाम तापेर नबसेर के लखर लखर हिँडेको भनेर खेदो खन्थे । पाकेको धानमा पानी लगाएर के फाइदा भन्थे । तर मैले कसैको वास्ता गरिनँ ।’
उनलाई पढ्नका लागि परिवारका सदस्यहरूले हौसला दिएका थिए । छोराबुहारी र श्रीमानको हौसलाले आफू पढाइमा अघि बढेको उनले बताएकी छन् ।
छोराछोरीहरूले पढाइ अपूरो छोडेपछि उनीहरूलाई प्रेरणा दिनका लागि पनि आफूले पढ्न थालेको उनको भनाइ छ ।



