नारायणगढ । चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ८ जनालाई सार्वजनिक गरेको हो । गत कात्तिक ३० गते

निकुञ्जको पूर्वीक्षेत्रमा पर्ने चपरचुली क्षेत्रमा दुई वटा पोथी गैंडालाई खाडल खनेर मारेको अवस्थामा फेला परेको थियो । गैंडाको खाग काटेर लगेको अवस्थामा फेला परेपछि अनुसन्धान गरी गैंडा मार्नेको खोजी गरिएको निकुञ्जका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए । अनुसन्धानको क्रममा निकुञ्जले दुई वटा खाग पनि बरामद गरेको छ । १८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको र ४८० ग्रामको एउटा र ११.८ इन्च गोलाइ, २ इन्च उचाइ भएको र ६० ग्रामको अर्को खाग बरामद भएको हो । गैंडा मार्न प्रयोग भएका हतियारहरू पनि बरामद भएका छन् ।

अधिकारीहरूले मुख्य योजनाकार हेटौंडा उपमहानगरपालिका–३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खातीलाई पनि पक्राउ गरेको छ । उनले नै गैंडाको खाग बिक्री वितरण गर्ने गरेको महानिर्देशक ढुंगानाले बताए ।

पक्राउ पर्नेमा गैंडा सिकारी चितवनका पासाङ भन्ने आइतेसिंह मोक्तान, हेटौंडाका समसेर थिङ, थिङ बाजे भन्ने सिताराम थिङ, अर्जुन रोका, घले भन्ने धनबहादुर गुरूङ, उनबहादुर स्याङतान र स्याङ्बो भन्ने इन्द्रबहादुर तामाङ छन् ।

यस घटनाको अनुसन्धान गर्न नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्युरो, नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, खड्ग दल गण कसरा व्यारेक, चितवन जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाइ लगायत खटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय